ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज
मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन्। नव लक्स र रुषाबीच ब्राण्ड प्रवर्द्धनसम्बन्धी औपचारिक सम्झौता समेत सम्पन्न भएको छ।
नेपालमै उत्पादन हुँदै आएको नव लक्स कस्मेटिक्समा फेसवास, मोइस्चराइजर, टोनर, एसपीएफ ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ प्रकारका सौन्दर्य सामग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ।
रुषा पछिल्लो समय अभिनयसँगै सौन्दर्य तथा फेसन क्षेत्रमा पनि सक्रिय छिन्। उनी अहिले छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’मा अभिनेत्रीका रूपमा काम गरिरहेकी छन्। यसअघि उनले ‘जन्ते बाख्रो’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन्। साथै, उनले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।
ब्राण्ड एम्बेसडर नियुक्त भएपछि रुषाले नव लक्ससँग जोडिन पाउँदा खुसी लागेको बताइन्। आफूले प्रयोग गर्दै आएको कस्मेटिक ब्राण्डको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको उनको भनाइ छ।
“म यो ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी छु। आफूले प्रयोग गर्दै आएको कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडर बन्न पाउनु मेरा लागि गौरवको कुरा हो,” रुषाले भनिन्, “नव लक्सलाई अझ विस्तार गर्दै जनस्तरसम्म पुर्याउन आफ्नो तर्फबाट सक्दो योगदान गर्नेछु।”






