बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा ‘२६ करोड’को घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज

नेपाली चलचित्र ‘२६ करोड’मार्फत साहारा आर शाहले नेपाली रजतपटमा डेब्यु गर्ने भएकी छन्। भारतको मुम्बईस्थित पाँचतारे होटल ताज ल्याण्ड्स एन्डमा मंगलबार आयोजित विशेष समारोहबीच चलचित्रमा शाहलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिएको हो।

बलिउड अभिनेता विवेक ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (सीपीएए)ले आयोजना गरेको ‘रोज डे’ समारोहमा चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो। सोही कार्यक्रममा निर्माता सुवास भुसाल र नवअभिनेत्री शाहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

शाहले अभिनेता अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एक्टिङ एकेडेमी’बाट अभिनय प्रशिक्षण लिएकी हुन्। उनी सानै उमेरदेखि क्यान्सरसँग संघर्ष गरेकी थिइन्। क्यान्सरलाई जितेपछि उनको स्वास्थ्योपचार, शिक्षा तथा अभिभावकत्वमा अभिनेता ओबेरोयले लामो समयदेखि सहयोग गर्दै आएका छन्।

चलचित्र घोषणा कार्यक्रममा ओबेरोय शाहलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिएको क्षणमा भावुक बने। उनले बाल्यकालदेखि शाहको संघर्ष देख्दै आएको उल्लेख गर्दै उनको फिल्मी यात्राको सुरुवात आफ्ना लागि विशेष खुसीको क्षण भएको बताए।

सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रको लेखन तथा निर्देशन विकास सुवेदीले गर्नेछन्। निर्देशक सुवेदीका अनुसार शाहलाई अडिसनमार्फत चलचित्रका लागि छनोट गरिएको हो। चलचित्रको कथाअनुसार हिन्दी लवज बोल्ने पात्र आवश्यक भएकाले शाह उपयुक्त देखिएपछि उनलाई अनुबन्ध गरिएको उनले बताए।

चलचित्रमा यसअघि नै अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। शाहले प्रदीपको जोडीका रूपमा अभिनय गर्नेछिन्।

किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालका जुम्ला र काठमाडौँसँगै भारतको मुम्बई तथा केदारनाथका विभिन्न स्थानमा गरिने निर्माता भुसालले जानकारी दिए। कर्णाली फिल्म फेस्टिभलका अवसरमा चलचित्रको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार फेस्टिभल निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा चलचित्र निर्माणको घोषणा गरिएको हो।