‘बाटुलो जून’को प्रदर्शन मिति फेरियो, अब भाइटिकामा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज

निर्देशक, निर्माता तथा अभिनेता भुवन केसीले आफ्नो नयाँ फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिएका छन्। ३० असोजमा रिलिज हुने भनिएको यो चलचित्र अब २६ कात्तिकमा आउने भएको छ । अब यो चलचित्र भाइटिकामा आउने भएको छ ।

दसैँको अवसरमा प्रदर्शन गर्ने तयारी भए पनि सो अवधिमा अन्य चार नेपाली फिल्मसँगै थप एक फिल्मसमेत प्रदर्शनमा आउने भएपछि पर्दा बाँडफाँडमा समस्या हुन सक्ने वितरक तथा प्रदर्शकको सुझावलाई ध्यान दिँदै नयाँ मिति तय गरिएको केसीले बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दै चलचित्र उद्योगको हितका लागि फिल्महरूबीच भिडन्तभन्दा सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, उनले दसैँमा प्रदर्शन हुने चारवटै फिल्मलाई सफलताको शुभकामना दिएका छन्।

यो चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडा बिचको प्रेम सम्बन्धलाई पोष्टर मार्फत प्रस्तुत गरिएको छ ।  फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् । विवेक थापा सह-निर्मातामा छन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसहित भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटीलगायतको अभिनय छ ।