ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त, बुधबारदेखि छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ असोज

युवापुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र मनोविज्ञानलाई कथाको केन्द्रमा राखेर निर्माण हुन लागेको सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ। ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै निर्माण टिमले सिनेमाको शुभ मुहूर्त गरेको हो। मुहूर्त समारोहमा निर्देशक बलिराम चौहान, निर्माता भोलानाथ कटुवालसहित मुख्य कलाकारहरूको उपस्थिति थियो।

निर्देशक चौहानका अनुसार सिनेमाको छायांकन बुधबारदेखि काठमाडौँको लाजिम्पाटबाट सुरु हुनेछ। ३५ दिनको छायांकन तालिका तय गरिएको सिनेमाको छायांकन काठमाडौँसँगै झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। युवापुस्ताबीच साथीभाइको सम्बन्धमा हुने किचकिच, एउटै विषयमा बारम्बार दिइने दबाब तथा त्यसबाट सिर्जना हुने मानसिक तनावलाई जनाउन प्रयोग हुने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै सिनेमाको शीर्षक बनाइएको निर्देशक चौहानले बताए।

‘ल्याङ्ग ल्याङ्ग’ले विशेषगरी जेनजी पुस्ताको जीवनशैली, उनीहरूको सोच, प्रेम, संघर्ष र स्वतन्त्रताको चाहनालाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ। युवाको दैनिक जीवनमा आउने उतारचढाव तथा समसामयिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिने निर्देशक चौहानले बताए।

सिनेमामा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, विनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ।

बलिराम चौहान र उपाश्री खतिवडाको कथा रहेको सिनेमामा भोलानाथ कटुवालको लगानी रहनेछ। रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला -एनमक्स-को संगीत, महेश मगरको प्रोडक्सन म्यानेजमेन्ट, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइन, साश्वत श्रेष्ठको पृष्ठभूमि संगीत तथा मित्र डी गुरुङको सम्पादन रहनेछ।