‘द राइज अफ साम्राज्य’मा जोडिए सुशील श्रेष्ठ


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

नेपाली चलचित्रको ठूलो क्यानभासमा निर्माण हुन लागेको एक्सन ड्रामा ‘द राइज अफ साम्राज्य’को कलाकार टोलीमा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन्। निर्देशक सौरभ चौधरीले चलचित्रको एक महत्वपूर्ण भूमिकाका लागि सुशीललाई अनुबन्ध गरेका हुन्। छायाङ्कनको तयारी अन्तिम चरणमा पुगेका बेला सुशीलको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप बलियो बनेको छ।

चलचित्रमा यसअघि नै सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन्। निर्देशक चौधरीका अनुसार सुशीलले चलचित्रमा मुख्य भूमिकामध्येको एक पात्रको जिम्मेवारी सम्हाल्नेछन्। फरक शैलीका चलचित्रमा काम गर्दै आएका सुशीलका लागि यो भूमिका नयाँ चुनौती बन्ने अपेक्षा गरिएको छ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। चलचित्रको छायाङ्कनका लागि ७० दिनको तालिका तय गरिएको छ। अधिकांश छायाङ्कन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने निर्माणपक्षले जनाएको छ।

निर्देशक चौधरीले यसअघि गरेका कामभन्दा फरक र ठूलो क्यानभासमा एक्सन, ड्रामा तथा कथानक प्रस्तुत गर्ने तयारी गरेका छन्। चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन तथा श्री श्रेष्ठको एक्सन निर्देशन रहनेछ।

प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरकका रूपमा जोडिएका छन्।