नेपालगञ्ज, दाङ, धरान र बुटवलको मन जित्दै ‘बा: एक योद्धा’ काठमाडौं प्रिमियरको तयारी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

बाबुको त्याग, संघर्ष र सन्तानप्रतिको समर्पणलाई कथाको केन्द्रमा राखिएको चलचित्र ‘बा: एक योद्धा’ले प्रदर्शनअघि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। चलचित्रले काठमाडौंमा प्रिमियर गर्नुअघि नै नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकमाझ विशेष प्रिमियर सम्पन्न गरेको हो।

सामान्यतया नेपाली चलचित्रको पहिलो प्रिमियर काठमाडौंमा गर्ने परम्परा रहे पनि ‘बा: एक योद्धा’ले यसपटक फरक अभ्यास थालेको छ। चार प्रमुख सहरका दर्शकमाझ प्रिमियर गरेपछि निर्माणपक्षले असोज ६ गते काठमाडौंमा चलचित्रको प्रिमियर गर्ने तयारी गरेको छ।

मोफसलका प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको निर्देशक तथा लेखक हरि लम्सालले बताए। उनका अनुसार दर्शकले चलचित्रको कथावस्तु र पात्रसँग आफूलाई जोड्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। “नेपाली समाजमा बाबुले सन्तानका लागि गर्ने संघर्षलाई दर्शकले आफ्नै जीवनसँग जोडेर हेर्नुभएको छ। मोफसलमा पाएको प्रतिक्रियाले काठमाडौंका दर्शकबाट पनि यस्तै आत्मीय प्रतिक्रिया पाउने अपेक्षा गरेका छौँ,” उनले भने।

निर्माता वसन्त लम्सालका अनुसार प्रिमियरमा सहभागी दर्शकले कलाकारको अभिनयसँगै चलचित्रको भावनात्मक कथावस्तुको प्रशंसा गरेका छन्। विशेषगरी दिव्यदेवको अभिनयलाई उनको करिअरकै महत्वपूर्ण कामका रूपमा दर्शकले प्रतिक्रिया दिएको उनले बताए। सुहाना थापाको भूमिकालाई पनि दर्शकले यसअघिका चलचित्रभन्दा फरक र प्रभावकारी भनेका छन्।

प्रिमियरपछि केही दर्शकले चलचित्रले आफ्नै जीवनका अनुभव सम्झाएको प्रतिक्रिया दिएका छन्। एक युवतीले दिवंगत बुबाको संघर्ष सम्झँदै चलचित्र हेर्दा आफू भावुक भएको बताइन्। उनका अनुसार बाबुले आफू र आमाका लागि गरेको त्याग चलचित्रका घटनासँग जोडिएको महसुस भयो।

त्यस्तै, एक पुरुष दर्शकले बुवाले सन्तानका लागि गर्ने संघर्ष बुझ्न चाहने सबैले चलचित्र हेर्नुपर्ने प्रतिक्रिया दिए। अर्की दर्शकले चलचित्रले अभिभावकीय जिम्मेवारी र सन्तानले बुबाआमाप्रति गर्नुपर्ने व्यवहारबारे भावनात्मक सन्देश दिएको बताइन्। केही युवतीले चलचित्रमा प्रस्तुत बाबु–छोरीको सम्बन्धलाई मन पराउँदै ‘यस्तै बुवा हुनुपर्छ’ भन्ने प्रतिक्रिया दिएका छन्।

असोज ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रले परिवार र विशेषगरी बुवाले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। वसन्त लम्साल निर्माता, अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन निर्माता तथा कृष्ण काफ्ले सह–निर्माता छन्।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ। शिवराम श्रेष्ठको छायाङ्कन रहेको चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्।

‘बा: एक योद्धा’लाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। काठमाडौं प्रिमियरअघि नै मोफसलका दर्शकबाट प्राप्त प्रतिक्रियाले चलचित्रको प्रदर्शनप्रति निर्माणपक्षको उत्साह बढाएको छ।