ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज
नेपाली चलचित्रको बक्स अफिसमा ‘गौंथली’ले आफ्नो बलियो उपस्थिति कायमै राखेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस तथ्याङ्कअनुसार डा. कपिल रिजाल निर्देशित ‘गौंथली’ले प्रदर्शनको नवौँ सातासम्म आइपुग्दा २५ करोड ९४ लाख ७३ हजार रुपैयाँभन्दा बढीको कुल ग्रस व्यापार गरेको छ।
बोर्डले आइतबार राति १२ बजेसम्मको तथ्याङ्कका आधारमा सार्वजनिक गरेको रिपोर्टअनुसार ‘गौंथली’का हालसम्म ९ लाख ४० हजार ९ सय १५ टिकट बिक्री भएका छन्। सिनेमा बक्स अफिस प्रणालीमा आबद्ध हलबाट प्राप्त विवरणअनुसार चलचित्रले २६ करोड रुपैयाँको आँकडातर्फ अग्रसरता देखाएको हो।
बक्स अफिस सूचीमा माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा छ। चलचित्रका १ लाख २९ हजार १ सय १८ टिकट बिक्री हुँदा ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस व्यापार भएको छ। प्रदर्शनको दोस्रो सातामा पनि चलचित्रको व्यापार सन्तोषजनक देखिएको छ।
शशान कँडेल निर्देशित ‘बेहुली’ले ९४ हजार ८ सय ८५ टिकट बिक्री गर्दै २ करोड ६८ लाख २८ हजार ५ सय २९ रुपैयाँ व्यापार गरेको छ। चलचित्रमा कुल ब्वाई र दिव्या रायमाझी मुख्य भूमिकामा छन्। दोस्रो सातामा पुगेको ‘बेहुली’को व्यापार भने अघिल्लो साताको तुलनामा घटेको देखिन्छ।
त्यस्तै, नीता ढुङ्गाना निर्देशित तथा अभिनित ‘पार्वती’ले हालसम्म ७९ हजार ८ सय ४६ टिकट बिक्री गरेको छ। चलचित्रले २ करोड २४ लाख ३१ हजार ८ सय ८३ रुपैयाँको कुल ग्रस व्यापार गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ। ‘पार्वती’ अहिले चौथो सातामा प्रदर्शनरत छ।
नेपालबाट यस वर्षको ओस्कार अवार्डका लागि प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा छनोट भएको ‘एलिफेन्ट्स इन द फग’ले पनि बक्स अफिसमा उपस्थिति जनाएको छ। चलचित्रका ३३ हजार १ सय ३६ टिकट बिक्री हुँदा हालसम्म १ करोड १६ लाख ५४ हजार ९ सय ७० रुपैयाँ ग्रस व्यापार भएको छ।






