ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज
नेपाल, भुटान र भारतको सहकार्यमा नायक प्रदीप खड्का निर्माता भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
चलचित्रको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने जनाइएको छ। कार्यक्रममा भुटानबाट कलाकार तथा निर्माण टोलीको समेत सहभागिता रहनेछ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्वाण चौधरी, प्रदीप खड्का, प्रशान्त कुमार गुप्ता, संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहितका निर्माताको सहकार्य छ। भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले पनि चलचित्रलाई सहयोग गरेको छ।
डीडी किन्लेले लेखन, निर्देशन तथा सम्पादन गरेको चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्। दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसर हुन्।
सार्वजनिक पोस्टरमा रहस्यमय सुरुङ र अँध्यारो परिवेश प्रस्तुत गरिएको छ। ‘पहाडमुनिको श्राप’लाई कथाको केन्द्रमा राखिएको चलचित्रले जम्बी तथा हरर शैलीलाई समेटेको छ।
नेपाल र भुटानपछि चलचित्रलाई एसिया, युरोप र उत्तर अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ। यसअघि अगस्ट १४ मा चलचित्रको टिजर सार्वजनिक गरिएको थियो।






