निखिलको ‘विदेशी प्रभाव घटाउने’ गफ, आफ्नै चलचित्र आचार्यमा हिन्दी मोह !


गसिफ न्युज

ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्रमा विदेशी प्रभाव घटाउनुपर्ने धारणा राखेका छन् । आफ्नो चलचित्रको ट्रेलर रिलिज समारोहमा मिडियाकर्मीले पत्नी संचिता लुइटेलको कार्यक्रममा अनुपस्थिति बारे शंकायुक्त जिज्ञासा राखेपछि पत्रकारलाई केही बेर पत्रकारिताको लेक्चर दिएपछि उनले यो चलचित्र निर्माणको उदेश्य समेत बताए ।

‘आचार्य’को ट्रेलर सार्वजनिक गर्ने क्रममा निखिलले नेपालमा विदेशी चलचित्रको प्रभाव कम गर्न नेपाली चलचित्र निर्माणमा जोड दिएको बताएका थिए। तर, उनको आफ्नै चलचित्र ‘आचार्य’को निर्माण र प्रस्तुतिलाई हेर्दा भने उनी आफैँले दिएको अभिव्यक्ति र चलचित्रको शैलीबीचको विरोधाभास देखिएको भन्दै फिल्मी वृत्तमा चर्चा सुरु भएको छ ।

नेपाली चलचित्रको मौलिकता र स्वदेशी कथावस्तुको पक्षमा उनको यस्तो भनाइ आएपछि धेरैले त्यसलाई सकारात्मक रूपमा लिएका थिए। तर, चलचित्रको निर्माण प्रक्रिया र सार्वजनिक प्रचार सामग्रीले भने उनको भनाइसँग मेल नखाने प्रश्न उठाएको छ।

निखिलको भनाइअनुसार विदेशी प्रभाव घटाउने उद्देश्यले चलचित्र बनाइएको हो भने ‘आचार्य’को छायांकन भारतमा गर्नु, हिन्दी भाषालाई प्राथमिकता दिनु र भारतीय परिवेशका दृश्यलाई प्रमुखताका साथ प्रस्तुत गर्नु कत्तिको सुहाउँदो हो भन्ने प्रश्न अहिले उठिरहेको छ। चलचित्रको कथा र प्रस्तुतिमा नेपालीपन खोजिरहेका दर्शकका लागि यो विषय चासोको बनेको छ।

नेपाली चलचित्र क्षेत्रमा निखिल उप्रेती आफ्ना स्पष्ट र कहिलेकाहीँ विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने कलाकार हुन्। उनका विचारले नेपाली चलचित्रको विकास, मौलिकता र विदेशी प्रभावबारे बहस निम्त्याउने गरेको पाइन्छ। यसपटक पनि उनको ‘विदेशी प्रभाव घटाउने’ भनाइ र ‘आचार्य’को निर्माण शैलीबीचको अन्तरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।

नेपालीमा एउटा उखान छ– ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर।’ निखिलको पछिल्लो अभिव्यक्ति र चलचित्रको शैलीलाई लिएर यही उखान स्मरण हुन्छ । किनकी बिदेशी चलचित्रको प्रभाव घटाउन आफुले नेपाली चलचित्र आचार्य बनाएको त उनले बताए । तर आचार्यलाई मेड इन नेपाली, प्रोमोट फर हिन्दी एन्ड इन्डिया भन्दा फरक नपर्ला । उनको चलचित्र नेपालमा रिलिज भएपछि नेपालीहरुले हिन्दी शब्दमा केही सम्वाद भने पक्कै बोल्न सिक्ने छन् । यति भएपछि बिदशी चलचित्र बिरुद्ध नेपाली चलचित्रको प्रवर्धन भैहाल्यो नी हैन त निखिल जी

निखिलले ट्रेलर रिलिज कार्यक्रममा दिएको गफपछि अब प्रश्न उठेको छ– विदेशी प्रभाव घटाउने उनकै भनाइलाई ‘आचार्य’ले पर्दामा कति सार्थक बनाउला ?

अन्तमा निखिलको जय होस्, आचार्यको झनै जय होस, जय नेपाली चलचित्र ।