ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ असोज
अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। चलचित्र आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ।
यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। तीव्र द्वन्द्व, परिष्कृत एक्सन कोरियोग्राफी र मनोरञ्जनात्मक प्रस्तुतिले ‘आचार्य’ एक्सनप्रधान चलचित्र रहेको संकेत गर्छ। ‘भैरव’मार्फत एक्सन अवतारमा चर्चा कमाएका निखिलले यस चलचित्रमा एक्सनलाई अझ फराकिलो बनाएका छन्।
नेपाली बजेट, मौलिक कन्टेन्ट र नेपाली श्रमशक्तिबाट अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले ‘आचार्य’ तयार गरिएको निखिलले बताए। उनले चलचित्रमार्फत एक्सन र कन्टेन्टमा नयाँपन दिने प्रयास गरिएको पनि उल्लेख गरे।
चलचित्रमा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापती र सजिना श्रेष्ठले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्।
सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन रहेको चलचित्रको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्। बन्दे प्रसादको सम्पादन रहेको ‘आचार्य’को नेपाल वितरण मनोज राठी तथा विदेश वितरण सेभेन सिज इन्टरनेसनलले गर्दैछ। डिजिटल पार्टनर ओएसआर डिजिटल हो।






