काठमाडौँ, २ असोज
अन्तरजातीय सम्बन्धमा देखिने सामाजिक विभेद, भेदभाव र त्यसबाट उत्पन्न हुने पारिवारिक तथा सामाजिक उल्झनलाई कथाको केन्द्रमा राखिएको चलचित्र ‘जदौ’को ट्रेलर सार्वजनिक भएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्रको करिब सवा दुई मिनेट लामो ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो।
ट्रेलरमा चलचित्रको मूल कथालाई रहस्यकै रूपमा राख्दै हास्य, प्रेम, भावना र द्वन्द्वका विभिन्न पक्षलाई प्रस्तुत गरिएको छ। सामाजिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको ‘जदौ’ले जातीय विभेदसँगै आर्थिक असमानता र धनी–गरिबबीच हुने थिचोमिचोविरुद्ध आवाज उठाएको निर्माण पक्षले जनाएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अञ्जन शर्माले नेपाली समाजमा अझै विद्यमान जातीय विभेद तथा आर्थिक रूपमा कमजोर वर्गमाथि हुने विभेदविरुद्ध चलचित्रमार्फत आवाज उठाउने प्रयास गरिएको बताए। उनले चलचित्रले नेपाली जनजीवनको मौलिक कथा बोकेको उल्लेख गर्दै मनोरञ्जनसँगै सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।
अर्का निर्देशक तथा लेखक काजी लिम्बूले आफूहरूले लामो समयदेखि प्रस्तुत गर्न चाहेको कथालाई ‘जदौ’मार्फत पर्दामा ल्याएको बताए। उनका अनुसार चलचित्र हेर्ने मात्र नभई यसले उठाएका विषयलाई महसुस र मनन गर्नुपर्नेछ।
चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन ‘खबपु’, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय रहेको छ। मुकुनले चलचित्रमा आफूले यसअघि गरेका भूमिकाभन्दा फरक चरित्र निर्वाह गरेको बताए। नीति शाहले आफ्नो भूमिकाका लागि मेहनत गरेको र दर्शकले सकारात्मक प्रतिक्रिया दिने अपेक्षा व्यक्त गरिन्।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको चलचित्रमा शान्ति पुडासैनी कार्यकारी निर्मात्री छन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेका छन्। श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको चलचित्रलाई एनजिसिएन ग्रुपले वितरण गर्नेछ।
समीश्रण मुभीज एन्ड इन्टरटेनमेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्र असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रका ‘जदौ हजुर…’ र ‘तिमीसँग नबोली…’ गीत यसअघि नै सार्वजनिक भइसकेका छन्। कार्यक्रममा चलचित्रको तर्फबाट गोलाप्रथामार्फत सात जना सञ्चारकर्मीलाई विभिन्न उपहारसमेत प्रदान गरिएको थियो






