फूलपातीमा दुई चलचित्र ‘आबाट आमा–२’ र ‘१२ गाउँ २’ मात्र प्रदर्शनमा आउने


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौँ, १ असोज

यस वर्षको दशैँलाई लक्षित गर्दै नेपाली चलचित्रको प्रदर्शन तालिका फेरबदल हुने क्रम जारी छ। पछिल्लो अवस्थाअनुसार असोज ३० गते फूलपातीको छेकोमा दुई चलचित्र ‘आबाट आमा–२’ र ‘१२ गाउँ २’ प्रदर्शनमा आउने निश्चित देखिएको छ। दुवै चलचित्रले दशैँको लामो बिदालाई लक्षित गरेका छन्। बाँकी तीन चलचित्र अब फुलपातीमा नआउने पक्का जस्तै भएको छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘आबाट आमा–२’मा पल शाह, विपना थापा, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय छ। अघिल्लो श्रृंखलाको निरन्तरताका रूपमा निर्माण भएको चलचित्रले परिवार, आमाको प्रतीक्षा र वैदेशिक रोजगारीका कारण उत्पन्न पारिवारिक विछोडलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ।

विराज भट्टको निर्देशन तथा अभिनय रहेको ‘१२ गाउँ २’मा समीर भट्ट, विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकार छन्। कृशु शाही (काफिया) र वर्षा इटनीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेका छन्।

यसैबीच दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’को प्रदर्शन असोज ३० भन्दा पाँच दिनअघि अर्थात् असोज २५ मा सार्ने सम्भावना रहेको बताइएको छ। यो चलचित्र यदि घटस्थापनामा रिलिज भएन भने यसलाई दशैँको टिकाको दिन पनि रिलिज गर्ने सम्भावना रहेको निर्माण पक्षको कथन छ । यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, प्रकाश घिमिरे, कार्म, रिहान गिरी र रविन्द्र झालगायत कलाकार छन्।

भुवन केसी निर्देशित तथा अनमोल केसी अभिनित ‘बाटुलो जून’ पनि यसअघि असोज ३० का लागि तय थियो। चलचित्रमा अनमोल केसी, प्रिन्सी खतिवडा, न्यान्सी खड्का, स्नेहा भट्टराई, प्रकाश घिमिरे, रेअर राई, लक्ष्मी गिरी, भुवन केसी र गरिमा पन्तलगायत कलाकार छन्। तर यो चलचित्र अब यो मितिमा रिलिज नहुने भएको छ । चलचित्रलाई अर्को मितिमा सार्ने की भन्ने सल्लाह भईरहेको भुवन केसीले बताएका छन् ।

त्यस्तै, अशोक शर्माको निर्देशनमा तयार हुँदै गरेको ‘डबल ट्रिपल’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, रामप्रसाद खनाल, विल्सनविक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ र माओत्से गुरुङलगायत कलाकार छन्। पछिल्लो विवरणअनुसार यो चलचित्र दशैँमा नआउने र नयाँ प्रदर्शन मितिमा जाने अवस्थामा छ।