ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ भदौ
बालबालिकामा लुकेर रहेका नृत्य तथा गायन प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले एएनपी मिडिया हाउसले दुई रियालिटी शो एकसाथ आयोजना गर्ने भएको छ। ‘नेशन्स गट ट्यालेन्ट’ (राष्ट्रको प्रतिभा) किड्स डान्स सिजन–३ र ‘जुनियर सिङ्गिङ आइडल नेपाल सिजन–२’ आगामी असोज ३ गते शनिबारदेखि एकसाथ सुरु हुने भएका हुन्।
७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहने दुवै कार्यक्रमको छायांकन एपीवान टेलिभिजनको स्टुडियोमा हुनेछ। आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार दुवै कार्यक्रम एपीवान टेलिभिजनबाट प्रसारण हुनेछन्। नृत्यतर्फको कार्यक्रम ओएसआर रियालिटी युट्युब च्यानल तथा गायनतर्फको कार्यक्रम एभेनटोज डिजिटल युट्युब च्यानलबाट समेत प्रसारण गरिनेछ। दुवै कार्यक्रमको भोटिङ पार्टनर एभेनटोज कम्पनी रहेको आयोजकले जनाएको छ।
गत वैशाखदेखि उपत्यकाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको अडिसनमा नृत्यतर्फ करिब ७ सय र गायनतर्फ ४ सय बालबालिकाले सहभागिता जनाएका थिए। स्थानीय अडिसनबाट छनोट भएका नृत्यतर्फका १ सय ८० र गायनतर्फका १ सय ४० प्रतिभाले अब मेगा अडिसनमा प्रतिस्पर्धा गर्नेछन्।
‘नेशन्स गट ट्यालेन्ट किड्स डान्स’को मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशवराज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायक रहनेछन्। ‘जुनियर सिङ्गिङ आइडल नेपाल’को मेगा अडिसनमा संगीतकार तथा गायक राजेन्द्र बजगाईं, गायिका रीता केसी र गायिका सारिका घिमिरे निर्णायकका रूपमा रहनेछन्।
मेगा अडिसनपछि निर्णायकको छनोटबाट ६० र दर्शकको भोटिङबाट २० गरी प्रत्येक विधाबाट ८० बालप्रतिभा टेलिभिजन राउण्डमा प्रवेश गर्नेछन्। नृत्यतर्फ अभिनेत्री मिथिला शर्मा, वरिष्ठ नृत्य निर्देशक कमल राई र मोडल सरोज प्रजा निर्णायक रहनेछन्। गायनतर्फ गायिका कुन्ती मोक्तान, गायक आनन्द कार्की तथा संगीतकार एवं गायक वसन्त सापकोटा निर्णायकका रूपमा रहनेछन्।
प्रनिमा दाहालले सञ्चालन गर्ने कार्यक्रम शम्भुप्रसाद रेग्मीको संयोजन, अनीता तामाङको प्रशासन तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्कीको इभेन्ट म्यानेजमेन्टमा आयोजना हुनेछ।






