चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ भदौ

सन्तानको भविष्यका लागि जीवनभर त्याग र संघर्ष गर्ने बुवाको कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘बा: एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले छोराछोरीप्रति समर्पित बुवाको योगदानलाई सन्तानले बेवास्ता गर्दा उत्पन्न हुने पारिवारिक तथा आर्थिक समस्यालाई केन्द्रमा राखेको छ।

ट्रेलरमा छोराको सपना पूरा गर्न घरसमेत धितो राख्न तयार हुने बुवाको संघर्ष देखाइएको छ। तर, बुवाले गरेको त्याग र योगदानलाई छोराहरूले नबुझ्दा उनले अपमान र पीडा भोग्नुपरेको कथालाई प्रस्तुत गरिएको छ। बुवाको सम्पत्तिमा समेत आँखा लगाउने तथा दिदीबहिनीलाई सम्पत्ति दिने विषयमा छोराले असहमति जनाउने प्रसंगले पारिवारिक सम्बन्धमा देखिने स्वार्थलाई उजागर गरेको छ।

छोराहरूको महत्वाकांक्षा र अव्यावहारिक व्यवहारका कारण मध्यमवर्गीय परिवार आर्थिक समस्यामा फस्दै गएको अवस्थालाई पनि ट्रेलरमा देखाइएको छ। आफ्नै सन्तानले नबुझेको अवस्थामा छिमेकीले बुवाको पीडा बुझ्ने प्रसंगले कथालाई थप भावनात्मक बनाएको छ। त्यस्तै, अभिभावकको समस्या बुझ्ने छोरीको भूमिकालाई भने ट्रेलरमा केही हदसम्म रहस्यकै रूपमा राखिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बा: एक योद्धा’ असोज ९ गतेदेखि प्रदर्शनमा आउँदै छ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौती चलचित्रको मुख्य विषय हो।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीतमा संगीत दिएका हरि लम्साल रचनाकार तथा गायकसमेत हुन्। फिचर चलचित्र निर्देशनमा भने ‘बा: एक योद्धा’ उनको पहिलो प्रयास हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्सालले नै लेखेका हुन्।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्।

चलचित्रलाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।