ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० भदौ
नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामध्ये एकमा देखिने भएका छन्। चलचित्रका लागि अमरप्रतापले अभिनयसँगै एक्सन, मार्सल आर्ट र नृत्यको प्रशिक्षणमा साढे दुई वर्ष बिताएको निर्देशक सौरभ चौधरीले बताएका छन्।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि अमरप्रताप पनि चलचित्रको कलाकार टोलीमा जोडिएका हुन्। निर्देशक चौधरीका अनुसार अमरप्रतापले आफ्नो सल्लाहअनुसार चलचित्रका लागि आवश्यक विभिन्न विधामा लामो समयदेखि तयारी गर्दै आएका थिए।
‘साढे दुई वर्षदेखि मेरो सल्लाहमा अमरले अभिनय, एक्सन, मार्सल आर्ट र नृत्यको प्रशिक्षण लिनुभएको छ। एउटा चलचित्रका लागि साढे दुई वर्षदेखि तयारी गर्नु सामान्य कुरा होइन। यसले उहाँको लगाव र समर्पण देखाउँछ,’ निर्देशक चौधरीले भने।
अमरप्रतापको निरन्तर तयारी र प्रशिक्षणकै आधारमा उनलाई चलचित्रको महत्वपूर्ण भूमिकामा छनोट गरिएको निर्देशक चौधरीको भनाइ छ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ। चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। निर्देशक चौधरीले यसपटक अघिल्ला चलचित्रको तुलनामा अझ ठूलो क्यानभासमा काम गर्ने योजना बनाएका छन्। निर्माण पक्षले चलचित्रलाई नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन फिल्मका रूपमा निर्माण गर्ने दाबी गरेको छ।
चलचित्र केही समयपछि छायाङ्कनमा जाने तयारीमा छ। निर्माण पक्षले ७० दिनको छायाङ्कन तालिका तयार गरेको छ, जसको अधिकांश छायाङ्कन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने बताइएको छ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत ‘बेन’ सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जनको छायाङ्कन, श्री श्रेष्ठको एक्सन निर्देशन रहने चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल, प्रचार साझेदार टौवा स्टुडियो र वितरण साझेदार डिसीएन रहेका छन्।






