ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौ
अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को आकर्षक नृत्य देख्न सकिन्छ।
सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर छ। गीतको अडियोसँगै भिडियो पक्षलाई पनि आकर्षक बनाइएको निर्माण पक्षले जनाएको छ। विशेषगरी समीर र कृशुको नृत्य तथा ब्रेकडान्सले गीतलाई थप आकर्षक बनाएको छ।
चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै दर्शकमाझ बढेको चासोलाई ‘जुनेली’ले थप उचाइ दिने अपेक्षा निर्माण पक्षको छ। गीतमा समीर र कृशुको जोडीलाई केन्द्रमा राख्दै उनीहरूको नृत्य कौशललाई प्रस्तुत गरिएको छ।
बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेलले छायांकन गरेको चलचित्रमा सरस्वती भट्टको लगानी रहेको छ। चलचित्र आगामी असोज ३० गते दशैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ।
चलचित्रमा समीर र कृशुसँगै विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर. शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। यही चलचित्रबाट कृशु शाही ‘काफिया’ र वर्षा इटनीले नेपाली चलचित्रमा डेब्यु गरेका छन्।
चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण काफिया फिल्म्स र कुबेर सिनेमाले गर्नेछन्।






