‘रातो घेरा’को छायांकन सकियो, मंसिर १८ देखि प्रदर्शनमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौ

दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘रातो घेरा–द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ। सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको चलचित्रको छायांकन काठमाडौँको बानेश्वरस्थित मण्डला थिएटरमा इन्डक्ल्यापसँगै सकिएको हो।

निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गरिएको चलचित्रले मानवीय सम्बन्धका विविध आयामलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगरसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईं, डीबी गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन ‘खबपु’, अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, विजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ।

जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ ‘भोज’ र सरुन शेरचन चलचित्रका निर्माता हुन् भने सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा रहेका छन्। निर्माता जीवन गुरुङले सत्य घटनामा आधारित सामाजिक तथा भावनात्मक कथालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्माणका क्रममा कथावस्तु, दृश्य भाषा र प्राविधिक पक्षमा विशेष ध्यान दिइएको बताए।

चलचित्रको कथा तथा पटकथा राजु स्याङ्ताङले लेखेका हुन्। शिशिर बिसंखेले छायांकन गरेको चलचित्रमा मनोज थापा मगर र सागर आलेको संगीत तथा मनोज थापा मगरको पाश्र्व संगीत रहेको छ। श्रवण मुकारुङ र शिव हमालका गीतमा सागर आले र शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ।

चलचित्रका गीतमा प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत रहनेछ। गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका छन्। जीवन थापाले सम्पादन गरेको चलचित्रमा फिरोज खड्का मुख्य सहायक निर्देशक, अनिल दाहाल र सिर्जना भुजेल सहायक निर्देशक तथा सन्देश राई प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन्।

जानकी कडायतले कस्ट्युम डिजाइन, विक्रम थापाले मेकअप, कल्पना लिम्बूले हेयर, कृपा खड्गीले आर्ट निर्देशन र रामलाल खड्काले प्रोडक्सन डिजाइन सम्हालेका छन्।

चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ। निर्माण पक्षका अनुसार ‘रातो घेरा–द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। सत्य घटनामा आधारित कथावस्तु, चर्चित कलाकारको अभिनय र अनुभवी प्राविधिक टोलीका कारण चलचित्रलाई प्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ।