ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ
९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धाका लागि नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ। द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति नेपालले उक्त चलचित्रलाई नेपालको प्रतिनिधित्व गर्दै अस्करमा पठाउने निर्णय गरेको हो।
यस वर्ष अस्करका लागि समितिमा दुई नेपाली कथानक चलचित्रले आवेदन दिएका थिए। ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’मध्ये समितिले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक पक्ष तथा कलात्मक शिल्पको मूल्यांकन गर्दै ‘तिनीहरू’लाई छनोट गरेको हो।
समितिले जारी गरेको विज्ञप्तिमा एकेडेमीका मापदण्डअनुसार उच्चस्तरीय र उत्कृष्ट चलचित्र सिफारिस गर्नुपर्ने भएकाले दुवै चलचित्रको गहन अध्ययन तथा मूल्यांकनपछि ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट गरिएको उल्लेख छ।
कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको यो चलचित्र गत शुक्रबारदेखि नेपालमा प्रदर्शनरत छ। अविनास विक्रम शाहको निर्देशन तथा पटकथा रहेको चलचित्रमा अविनास विक्रम शाह र सन्दीप बादलको कथा छ। चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ।
चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायतको अभिनय छ।
नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्रका नेपालतर्फका निर्माता अनुप पौडेल हुन्। फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता छन्।
सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्। चार्ल्स अडिनेट लाइन निर्माता तथा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्।
अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता रहेका छन्।






