चलचित्र ‘बा : एक योद्धा’ अब असोज ९ गतेदेखि देशभर


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ भदौ

भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको नेपाली चलचित्र ‘बा : एक योद्धा’ अब असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको अवसर पारेर निर्माण टिमले चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो।

यसअघि बाढीपीडितका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै चलचित्रलाई मंसिर २४ गते प्रदर्शन गर्ने घोषणा गरिएको थियो। तर वितरक तथा प्रदर्शकसँगको छलफलपछि निर्माण टिमले मंसिरको मिति परिवर्तन गरी असोज ९ गते प्रदर्शन गर्ने निर्णय गरेको हो।

निर्माता वसन्त लम्सालले वितरक तथा प्रदर्शकसँगको परामर्शपछि नयाँ मिति तय गरिएको बताए। उनका अनुसार असोज ९ गते चलचित्र प्रदर्शन गर्दा दर्शकसँगै चलचित्र क्षेत्रका सबै पक्षको साथ र सहयोग प्राप्त हुने विश्वास निर्माण टिमले लिएको छ।

‘बा : एक योद्धा’ले नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। चलचित्रले बुवा र सन्तानबीचको सम्बन्धसँगै पारिवारिक जिम्मेवारी र भावनात्मक पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीतमा संगीत दिएका हरि लम्साल संगीतकारसँगै रचनाकार तथा गायकसमेत हुन्। ‘बा : एक योद्धा’ उनको फिचर चलचित्र निर्देशनमा पहिलो प्रयास हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्सालले नै तयार पारेका हुन्।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। ‘बा : एक योद्धा’लाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।