ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ भदौ
मिसेस नेपाल वल्र्ड–२०२५ की पब्लिक च्वाइस अवार्ड विजेता तथा अग्रज ब्युटिसियन करुण श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित १७५ परिवारलाई नगदसहित पोसिलो ड्राइफुड र आवश्यक औषधि वितरण गरेकी छन्।
करुणले नुवाकोटको बेत्रावती बजारपारि रहेको तुप्चे गाउँमा पुगेर बाढीपीडित परिवारलाई प्रत्यक्ष भेटी राहत उपलब्ध गराएकी हुन्। उनले प्रत्येक परिवारलाई पोसिलो ड्राइफुडका प्याकेट, आवश्यक औषधि तथा नगद सहयोग प्रदान गरेको बताइन्।
हङकङमा ब्युटी सैलुन सञ्चालन गर्दै आएकी करुण बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विशेष रूपमा नेपाल आएकी हुन्। राहत वितरणका लागि हङकङमा रहेका उनका साथीहरूबाट १ लाख २८ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो। यस्तै, मिसेस नेपाल वल्र्ड–२०२६ का प्रतियोगीहरूले २१ हजार रुपैयाँ सहयोग गरेका थिए।
प्राप्त सहयोगमा आफ्नोतर्फबाट समेत रकम थप गरी ३ लाख रुपैयाँभन्दा बढी जुटाइएको करुणले जानकारी दिइन्। सो रकममध्ये केहीबाट बाढीपीडितका लागि आवश्यक पोसिलो ड्राइफुड खरिद गरिएको थियो। ड्राइफुडलाई प्याकेट बनाएर १७५ परिवारलाई वितरण गरिएको उनले बताइन्।

मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टले पनि बाढीपीडितका लागि आवश्यक औषधि सहयोग गरेको थियो। आयोजकबाट प्राप्त औषधिसहित अन्य राहत सामग्री तुप्चे गाउँका प्रभावित परिवारलाई वितरण गरिएको करुणले जानकारी दिइन्।
राहत अभियानमा आर्थिक तथा अन्य माध्यमबाट सहयोग गर्ने हङकङमा रहेका साथीहरू, मिसेस नेपाल वल्र्ड–२०२६ का प्रतियोगी तथा आयोजक संस्था रिवन इन्टरटेनमेन्टप्रति करुणले धन्यवाद व्यक्त गरेकी छन्। बाढीबाट प्रभावित परिवारलाई प्रत्यक्ष भेटेर सहयोग गर्न पाउँदा आफूलाई सामाजिक दायित्व पूरा गरेको अनुभूति भएको उनको भनाइ छ।






