ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ भदौ
रसुवामा आएको बाढीपहिरो तथा पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै फिल्म ‘अक्षरा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि भदौ २६ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म अब आगामी मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको हो।
क्षितिज बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताद्वय उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिएका हुन्। विज्ञप्तिमा रसुवामा आएको बाढीपहिरो र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै फिल्मको प्रदर्शन सारिएको उल्लेख छ।
प्रदर्शन मिति परिवर्तनका कारण दर्शक, सिनेमा हल व्यवसायी तथा फिल्मसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण शुभेच्छुकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ। साथै, नयाँ प्रदर्शन मितिमा पनि दर्शकको माया, साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
फिल्म ‘अक्षरा’लाई माया, साथ र सहयोग गरिदिन निर्माण पक्षले दर्शक तथा चलचित्र क्षेत्रसँग सम्बन्धित सबैमा अनुरोध गरेको छ। फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘अक्षरा’ले मंगलबार मात्रै युनिभर्सल सर्टिफिकेट पाएको थियो। विनयराज पौडेलको निर्देशन रहेको यो फिल्म उनको डेब्यु निर्देशकिय फिल्म हो।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मलाई दिपेन बस्न्यातले छायांकन गरेका छन् भने गौतम खड्काले सम्पादन गरेका छन्। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्म वितरण गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।






