बक्स अफिसमा ‘गौँथली’को दबदबा, २५ करोड ८६ लाख २८ हजार ६१५ रुपैयाँ आम्दानी


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

नेपालका चलचित्र घरमा प्रदर्शनरत चार नेपाली फिल्मले आइतबारसम्म गरेको व्यापारको विवरण यहाँ प्रस्तुत गरिएको छ ।  चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस प्रणालीबाट प्राप्त तथ्यांकअनुसार ‘गौँथली’ सबैभन्दा अगाडि देखिएको छ। यो चलचित्रले ब्यवासायिक सफलताको ५१ औँ दिन समेत मनाईसकेको छ ।

भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्यांकअनुसार ‘गौँथली’ले ९ लाख ३० हजार ७४४ टिकट बिक्री गर्दै २५ करोड ८६ लाख २८ हजार ६१५ रुपैयाँ २० पैसा आम्दानी गरेको छ। प्रदर्शनरत चार फिल्ममध्ये टिकट बिक्री र आम्दानी दुवैमा ‘गौँथली’को स्पष्ट अग्रता छ। यसले गरेको व्यापार अनुसार नेपाली चलचित्रको इतिहासमा सर्वाधिक व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा गौँथली पुगिसकेको छ ।

यस्तै, नीता ढुंगाना र अशोक दर्जी अभिनीत ‘पार्वती’ दोस्रो स्थानमा छ। फिल्मले ५४ हजार ७३५ टिकट बिक्रीबाट १ करोड ५८ लाख ८४ हजार १३६ रुपैयाँ ५० पैसा आम्दानी गरेको छ।

त्यसैगरी अभिनेत्री प्रियंका कार्की निर्देशित तथा अभिनित नेपाली चलचित्र  ‘मास्टर्नी’ले १२ हजार १९७ टिकट बिक्री गरी ४० लाख १५ हजार १९९ रुपैयाँ ६८ पैसा आम्दानी गरेको छ। ‘हली’ले ८ हजार ५२५ टिकट बिक्रीबाट २ लाख ३२ हजार ४७० रुपैयाँ कारोबार गरेको तथ्यांकमा उल्लेख छ।