‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक, युरोपका सुन्दर शहरमा प्रेमकथा


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

विदेशमा अध्ययन तथा रोजगारीका लागि पुगेका नेपाली युवायुवतीको प्रेम, सम्बन्ध र मतभेदलाई कथाको केन्द्रमा राखिएको फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक गरिएको छ। साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब तीन मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ।

असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्मको निर्देशन राजु अधिकारीले गरेका हुन्। ट्रेलरमा युरोपका आकर्षक शहरदेखि नेपाली गाउँको परिवेशसम्मका दृश्यलाई समेटिएको छ। अध्ययन तथा रोजगारीका लागि विदेश पुगेका युवा–युवतीबीचको प्रेम, सम्बन्धमा आउने उतारचढाव तथा मतभेदलाई ट्रेलरमा प्रस्तुत गरिएको छ।

फिल्मका अधिकांश दृश्य बेल्जियम, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सलगायतका युरोपेली देशमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।

शरद अधिकारी निर्माता तथा बहादुर सिंह तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आरती अधिकारीको कथा तथा मौनता श्रेष्ठको पटकथा र संवाद रहेको छ। रामप्रसाद चौधरीले सम्पादन गरेको फिल्म जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो। फिल्मको छायांकन रबिन्द्र बरालले गरेका हुन्।

फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। ‘माया बस्छ कि के हो !’ मा सोनाल र कस्मतासँगै नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, रिचा थापा, खिन्नबहादुर भण्डारी (भोला), जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु र सुकचन्द्र थापालगायतका कलाकारको अभिनय छ। फिल्मको वितरण नेशनल सिने ग्रुपले गर्नेछ।