‘फर्की फर्की : बियोन्ड टाइम’ निर्माण हुँदै, मुख्य भूमिकामा अनमोल


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ भदौ

अभिनेता अनमोल केसी यति बेला नयाँ चलचित्र ए मेरो हजुर ५ को छायांकनमा छन् । उनी दुई साता पछिबाट आफ्नै गृह ब्यानरको चलचित्र बाटुलो जुनको प्रचारमा जुट्ने छन् । यसै बिच अभिनेता अनमोल नयाँ चलचित्र ‘फर्की फर्की : बियोन्ड टाइम’ मा अनुबन्धित भएका छन् ।

दुई वर्ष अघि निर्माण भएको चलचित्र ‘फर्की फर्की’ सिक्वेलको रुपमा यो नयाँ चलचित्र निर्माण हुन लागेको हो । चलचित्र फर्की फर्की व्यवसायिक र समीक्षात्मक दुबै पक्षमा सफल थियो । यो फिल्मले त्यतिबेला केसीको करिअरलाई राहत दिएको थियो ।

‘फर्की फर्की : बियोन्ड टाइम’ मा मुख्य भूमिकामा अनमोल केसी अनुबन्धित भएको यसका निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमा अनमोलसँग सम्झौता भएको तस्बिर सार्वजनिक सहित जानकारी गराएका छन् ।

यो चलचित्रलाई पनि सुयोग गुरुङले निर्देशन गर्नेछन् । चलचित्रको छायांकन मिति भने तय भएको छैन । यो फिल्म रोहित अधिकारी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । यसको निर्मातामा शोभा ढकाल हुनेछिन् ।

चलचित्रको नायिकामा जसिता गुरुङ नै हुने छिन वा अरु कोही हुने छन ? यसबारे निर्माण पक्षले केही जनाएको छैन । बाँकी कलाकार चाँडै चयन गरेर जानकारी दिने निर्माता रोहितको कथन छ ।