चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक, नाफाको ५ प्रतिसत बाढी पीडितलाई


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ भदौ

भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले प्रचारप्रसारलाई पुनः गति दिएको हो।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश शोक र संकटमा रहेका बेला ‘बेहुली’ले यसअघि आफ्ना प्रचारात्मक गतिविधि स्थगित गरेको थियो। परिस्थिति केही सहज बनेपछि निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्दै प्रचार अभियानलाई निरन्तरता दिएको हो।

कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता अर्जुन पोखरेलले चलचित्रको बक्स अफिस आम्दानीबाट निर्माताको भागमा पर्ने रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी क्षेत्रका बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरे।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रको ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, मित्रता र भावनात्मक द्वन्द्वलाई प्रस्तुत गरिएको छ। पारस बम ठकुरी र दिव्या रायमाझीको प्रेम सम्बन्धसँगै सुशान्त कार्की प्रहरीको भूमिकामा देखिएका छन्। पदम तामाङको कमेडी तथा सन्तोष बानियाको फरक भूमिकाले ट्रेलरलाई थप रोचक बनाएको छ।

चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौलीलगायतको अभिनय छ। अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता छन्। नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको ‘बेहुली’लाई काफिया फिल्म्स र श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।