ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ
नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भाव समेटिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुज र शान्ति श्री परियारको स्वर तथा मनोज थापा मगरको संगीत संयोजन छ। मौलिक स्वादको गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईलाई देख्न सकिन्छ। गीतले फिल्मको प्रेमकथा र पात्रबीचको सम्बन्धलाई संकेत गर्छ।
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले लाहुरे जीवन, पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र पहिचानका विषयलाई कथाको केन्द्रमा राखेको छ। बाबुको पहिलो पत्नीको नाममा रहेको पेन्सनपट्टाबाट सुरु हुने कथाले वर्षौंदेखि परिवारबाट ओझेलमा रहेकी जेठी आमाको खोजीसँगै पारिवारिक विगत र सम्बन्धका उतारचढावलाई प्रस्तुत गर्छ।
फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ। फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘यू’ प्रमाणपत्र पाएको छ। आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।






