४३ वटा हलमा गौँथलीले मनायो ५१ औँ दिन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० भदौ

चलचित्र ‘गौँथली’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। नेपाली चलचित्रको व्यापारमा नयाँ कीर्तिमान बनाउँदै अघि बढिरहेको ‘गौँथली’ले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तीन दर्जनभन्दा बढी हलमा ५१औँ दिन मनाउन सफल भएको हो।

निर्माता सुमन गिरीका अनुसार चलचित्र अहिले ४३ वटा हलमा ५९ शोसहित प्रदर्शन भइरहेको छ। उनका अनुसार फिल्मले हालसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँको व्यापार गरेको छ।

पछिल्लो समय अधिकांश नेपाली चलचित्रलाई एक सातासम्म पनि हलमा टिकाउन कठिन भइरहेको अवस्थामा ‘गौँथली’ले भने पाँचौँ सातापछि पनि दर्शकको साथ पाइरहेको छ। यही निरन्तर प्रदर्शनका कारण यो चलचित्र नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’पछि दोस्रो स्थानमा पुगेको निर्माण पक्षको दाबी छ।

५१औँ दिनसम्म चलचित्रलाई निरन्तर साथ दिएकोमा निर्देशक डा. कपिल रिजालले दर्शकप्रति आभार व्यक्त गरेका छन्। उनले दर्शकको माया र निर्माण टिमको मेहनतका कारण यो सफलता सम्भव भएको बताउँदै आगामी दिनमा अझ जिम्मेवार भएर दर्शकमाझ प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। चलचित्रमा निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।