बाढीपीडितको सहयोगमा नेपाल आए अभिनेता सोनु सुद, प्रभावित क्षेत्रमा पुगेर सुने पीडा


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ

बलिउड अभिनेता तथा सामाजिक अभियन्ता सोनु सुद यतिबेला नेपालमा छन्। भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालीको सहयोगका लागि उनी मंगलबार राहत सामग्रीसहित काठमाडौं आएका हुन्। सुद आफ्नो ‘सुद च्यारिटी फाउन्डेसन’को टोलीसहित नेपाल आएका हुन्।

काठमाडौं आएपछि उनले बाढी प्रभावित परिवारका लागि खाद्यान्न, कम्बललगायतका राहत सामग्री उपलब्ध गराउने बताएका थिए। राहत तत्काल वितरण गर्नुका साथै प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरेर आगामी दिनमा समेत सहयोग जारी राख्ने उनको भनाइ छ।

बुधबार सुद काठमाडौंमा सीमित नरही बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रतर्फ पुगे। उनी नुवाकोट पुगेर प्रभावित परिवारसँग भेटघाट गर्दै उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिएका छन्। उनले विपद्मा परेका नेपालीलाई सहयोग गर्न आफूहरू लामो समयसम्म साथमा रहने प्रतिबद्धता जनाएका छन्।

सुदले राहतलाई एकपटकको सहयोगमा सीमित नगरी प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउन दीर्घकालीन सहयोग आवश्यक रहेको बताएका छन्। उनले घरबार गुमाएका परिवारको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यसहित ‘रिजोल्भ टु बिल्ड अ होम’ अभियान अघि बढाउन आबस्यक रहेको बताएका छन् ।

अभिनेता सोनु सुदले अहिलेको अवस्थामा धेरैको घर बाढीले बगेका कारण उनीहरुलाई घर निर्माण गरिदिनु पर्ने आवस्यक्ता रहेको बताएका छन् । जसको घर सहित जग्गा पनि बगेको छ । तिनीहरुलाई जग्गा समेत उपलब्ध गराएर बस्नको लागि आबस्यक घर बनाई दिनु पर्ने अभिनेता सोनुले बताएका छन् । उनले आफुले पनि आउँदा दिनमा सकेसम्म घर निर्माणको लागि अभियान अघि बढाउने बताएका छन् । घर नभएकाहरुलाई घर बनाईदिन उनले विश्वभरका सहयोगी भनलाई अनुरोध गरेका छन् । सानो ठुलो् जत्रो भए पनि अहिले भोटेकोशी बाढी पीडितहरुका लागि घरको आबस्यक्ता भएको उनले बताएका छन् ।

नेपाल आउनुअघि नै सुदले बाढीपीडित नेपालीको सहयोगमा खाद्यान्न, आश्रय र पुनर्निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए। अहिले उनी स्वयं प्रभावित क्षेत्रमा पुगेर पीडितसँग भेटघाट गरेपछि उनको मानवीय पहलले थप चर्चा पाएको छ।

तस्बिर श्रोत – एनडिटिभी, भारत