बाढीपीडितलाई सहयोग ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’को च्यारिटी प्रिमियर


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ

कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा पुरस्कृत नेपाली चलचित्र ‘तिनीहरू स् एलिफेन्ट्स इन द फग’ यही भदौ १९ गतेदेखि नेपालमा प्रदर्शनमा आउने भएको छ । प्रदर्शनअघि चलचित्रको बुधबार बेलुका काठमाडौँमा विशेष च्यारिटी प्रिमियर आयोजना गरिँदैछ ।

च्यारिटी प्रिमियरबाट ९ लाख रुपैयाँ संकलन गरी भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ । चलचित्रका अन्तर्राष्ट्रिय सह–निर्माताहरूले समेत बाढीपीडितका लागि सहयोग जुटाउने जनाइएको छ ।

अविनाशविक्रम शाहको लेखन तथा निर्देशन रहेको चलचित्र कान्समा पुरस्कृत भएपछि नेपाली दर्शकमाझ थप प्रतीक्षित बनेको छ । फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ ।

चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिजा घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ ।

नेपालसँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको फिल्ममा नेपालबाट पौडेलसहित विभिन्न देशका निर्माताको सहभागिता छ । चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको फिल्ममा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एसोसिएट निर्माता छन् ।