ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ
मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रत्यौली’को छायांकन सुरु भएको छ। निर्माणपक्षले सोमबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै चलचित्रको छायांकन शुभारम्भ गरेको हो।
छायांकनको पहिलो चरणअन्तर्गत दुई दिन काठमाडौंका विभिन्न स्थानमा चलचित्र खिचिनेछ। त्यसपछि निर्माण टोली दोलखाको जिरी प्रस्थान गर्नेछ। जिरीमा करिब एक महिनासम्म चलचित्रको छायांकन हुने निर्माणपक्षले जनाएको छ।
नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा विजय बराल र पूजा शर्मासहित लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ।
नायिका पूजा शर्माको प्रस्तुतिमा बन्न लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन्। चलचित्रको छायांकन हरि हुमागाँई र उत्तम हुमागाँईले संयुक्त रूपमा गर्नेछन् भने मुख्य सहायक निर्देशकको जिम्मेवारी सुनिल निउरेले सम्हालेका छन्। दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ।
नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई कथाको मुख्य केन्द्रमा राखेर निर्माण हुन लागेको ‘रत्यौली’लाई पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित चलचित्रका रूपमा प्रस्तुत गर्न लागिएको निर्माणपक्षले जनाएको छ।
चलचित्रको प्रदर्शन मिति पनि यसअघि नै घोषणा भइसकेको छ। निर्माणपक्षका अनुसार ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।






