‘पार्वती’को पहिलो दिनको कमाइ ११लाख बाढीपीडितलाई


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ भदौ

अभिनेत्री तथा निर्देशक नीता ढुंगानाले आफ्नो चलचित्र ‘पार्वती’को प्रदर्शनको पहिलो दिनको कमाइ बाढीपीडितको राहतका लागि हस्तान्तरण गरेकी छन् । उनले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर निर्माताको हिस्सेदारीमा आएको ११ लाख ३ हजार २ सय ७० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेकी हुन् ।

नीताले सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वघोषणाअनुसार चलचित्रको पहिलो दिनको ग्रस कलेक्सनबाट निर्माताको हिस्सेदारीमा आएको रकम सहयोग गरिएको जानकारी दिएकी छन् । उनले यो सहयोग आफूहरूको मात्र नभई ‘पार्वती’लाई माया गर्ने दर्शकहरूको पनि योगदान भएको बताउँदै आभार व्यक्त गरेकी छन् ।

यसैबीच, ‘पार्वती’को देश तथा विदेशमा हुने सम्पूर्ण प्रदर्शन अवधिको कुल ग्रस आम्दानीबाट थप ५ प्रतिशत रकम बाढीपीडितको राहतका लागि सहयोग गर्ने घोषणा गरिएको छ ।

नीताले ‘पार्वती’ चलचित्र मात्र नभई समाजको भोगाइ, संघर्ष, हिम्मत र आशाको कथा भएको बताउँदै विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरेकी छन् । उनले चलचित्रलाई माया गर्ने दर्शकलाई राहत अभियानमा समेत जोडिन आग्रह गरेकी छन् ।

शुक्रबारबाट देशव्यापी रिलिज भएको चलचित्र पार्वतीले ब्यापार बढी रहेको छ । जसका कारण देशभर यो चलचित्रले सोमबारसम्म १५० भन्दा बढी शोहरु पाएको छ ।