‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, अब कात्तिक २० मा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ भदौ

रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब तिहारको अवसर पारेर कात्तिक २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा निर्माण भएको ‘माया भनेकै यस्तो होला’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठसँगै पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । चलचित्रमा लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ, बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ ।

निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रा.लि.ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा देखिएको असहज परिस्थितिका कारण चलचित्रको प्रदर्शन मिति सारिएको जानकारी दिएको हो ।

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि अहिले देश शोकमा रहेकाले यस्तो अवस्थामा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षमा निर्माण पक्ष पुगेको जनाएको छ ।

निर्माता दिल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा मुलुकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ । देश पीडा र दुःखमा रहेका बेला मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानेर तत्कालका लागि प्रदर्शन रोकिएको निर्माण पक्षले जनाएको छ ।

भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति स्थगित भएसँगै चलचित्र अब नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा कात्तिक २० गतेदेखि दर्शकमाझ आउनेछ । नयाँ प्रदर्शन मितिबारे मुख्य वितरकहरूलाई औपचारिक जानकारी गराइसकिएको निर्माण पक्षले जनाएको छ ।

अचानक प्रदर्शन मिति परिवर्तन गर्नुपरेकाले दर्शक तथा चलचित्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ ।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ चलचित्रका निर्माता हुन् । चलचित्रले सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र नेपाली परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

ध्रुव लम्सालको पटकथा रहेको चलचित्रमा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन र राजन घिमिरेको फिल्म संयोजन रहेको छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप तथा चुडामणि (सीएम)को प्रोडक्सन व्यवस्थापन रहेको छ ।