ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ भदौ
देशमा आएको बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै चलचित्र ‘ककाकिकी’को प्रदर्शन मिति सारिएको छ। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब २०८३ मंसिर ११ गतेदेखि देशभरका चलचित्र हलमा प्रदर्शन हुने भएको हो।
बिक्की अग्रवालको निर्देशनमा तयार भएको चलचित्रमा रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर, महेश त्रिपाठी, प्रकाश घिमिरे र खड्गबहादुर पुनमगरलगायत कलाकारको अभिनय रहेको छ।
निर्माण कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिले विज्ञप्ति जारी गर्दै हाल मुलुक गम्भीर प्राकृतिक विपत्तिको अवस्थामा रहेकाले चलचित्रको प्रदर्शनसँगै प्रचारप्रसारका सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्ने उपयुक्त परिस्थिति नरहेको निर्माण पक्षको भनाइ छ। विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निर्माण पक्षले शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावितको शीघ्र उद्धार र पुनःस्थापनाको कामना गरेको छ।
निर्माण पक्षले नयाँ प्रदर्शन मिति तय भएसँगै चलचित्रको प्रचारप्रसार तथा अन्य प्रवर्द्धनात्मक गतिविधि पनि सोहीअनुसार अघि बढाउने जनाएको छ।
चलचित्रको शीर्ष गीत ‘ककाकिकी’ यसअघि नै सार्वजनिक भइसकेको छ। चलचित्रको कथा तथा विषयवस्तुका बारेमा निर्माण पक्षले थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।






