ब्युटी न्युज नेपाल
चितवन, ९ भदौ
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ले नेपाली चलचित्रमा कम उठान हुने अटिजमको संवेदनशील विषयलाई केन्द्रमा राख्दै दर्शकलाई फरक कथा र अनुभूति दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ। चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारप्रसारका क्रममा देश दौडाहामा रहेको टिम मंगलबार चितवन पुगेको हो। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रकी निर्देशक, कथाकार तथा नायिका नीता ढुंगानाले ‘पार्वती’ सामाजिक विषयवस्तुसँगै दिदी–भाइबीचको आत्मीय सम्बन्ध र संघर्षको कथा भएको बताइन्।
अटिजम भएकी एक महिलाको जीवनकथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा नीता स्वयं अटिजम भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी छन् भने कलाकार अशोक दर्जीले उनको भाइको भूमिका निर्वाह गरेका छन्। नीता ढुंगानाले अशोकले निभाएको पात्रमा अन्य कुनै कलाकारलाई कल्पना गर्न नसकिने बताउँदै चलचित्र हेरेपछि दर्शकले पनि उनको अभिनयबारे सकारात्मक धारणा बनाउने विश्वास व्यक्त गरिन्।
अटिजमजस्तो संवेदनशील विषयलाई पर्दामा उतार्न आफूले लामो समय अध्ययन गरेको नीताको भनाइ छ। अटिजम भएका व्यक्तिको दैनिकी र व्यवहारलाई नजिकबाट नियालेर पात्र निर्माण गरिएको उनले बताइन्।
कलाकार अशोक दर्जीले ‘पार्वती’ सबै उमेर र वर्गका दर्शकले हेर्नुपर्ने सामाजिक कथा बोकेको चलचित्र भएको बताए। निर्माता हरिहर अधिकारीले चलचित्रका टिजर, ट्रेलर र गीतले उत्साहजनक प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै प्रदर्शनपछि चलचित्रको कथाले नै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।






