चलचित्र ‘चंगुल’लाई युनिभर्सल सर्टिफिकेट


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ भदौ

आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘चंगुल’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। सर्टिफिकेटसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।

गत वर्ष भएका आन्दोलनलगायत समसामयिक विषयवस्तुलाई कथाको आधार बनाइएको ‘चंगुल’ले राजनीतिक परिवेशसँगै नेपाली समाज र हरेक घरपरिवारमा देखिने विभिन्न अवस्थालाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमिल्सिना, राकेश कुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा बालकलाकार रिम्शा कार्कीको पनि अभिनय रहेको छ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ। देव महर्जनले द्वन्द्व निर्देशन गरेको चलचित्रको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन्।

समसामयिक राजनीतिक र सामाजिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘चंगुल’ असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।