ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ भदौ
चलचित्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विशेष निःशुल्क चलचित्र प्रदर्शन अभियान घोषणा गरेको छ। अभियानअन्तर्गत ६० वर्षभन्दा माथिका नागरिकले भदौ १० गतेदेखि भदौ २१ गतेसम्म ‘गौँथली’ निःशुल्क हेर्न पाउनेछन्। डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ। शिक्षाको महत्त्व र श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन्।
यस सुविधाका लागि दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्नुपर्नेछ। चलचित्र हेरेपछि आवश्यक प्रमाणसहितको प्रक्रिया पूरा गरेपछि टिकट खरिदमा खर्च भएको रकम सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा फिर्ता गरिने निर्माण पक्षले जनाएको छ।
निर्देशक डा. कपिल रिजालका अनुसार रकम फिर्ताका लागि नागरिकताको प्रमाण, प्रयोगकर्ताको तस्बिर तथा खल्तीमार्फत टिकट खरिद गरिएको कारोबारको स्क्रिनसट पेस गर्नुपर्नेछ। ‘गौँथली’को पोस्टर वा तस्बिर पृष्ठभूमिमा देखिने गरी खिचिएको प्रयोगकर्ताको फोटोसमेत आवश्यक पर्ने जनाइएको छ।
अभियान सञ्चालनका लागि खल्तीमा एक लाख रुपैयाँ अग्रिम रकम जम्मा गरिनेछ। उक्त रकम उपलब्ध रहँदासम्म वा अभियानको निर्धारित अवधि सकिँदासम्म, जुन पहिले हुन्छ, सोही अवधिसम्म योग्य दर्शकलाई रकम फिर्ता गरिनेछ।
अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ। यसलाई नेपाली चलचित्र इतिहासकै दोस्रो सर्वाधिक कमाउने चलचित्रका रूपमा प्रस्तुत गरिएको छ।






