चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ भदौ

हास्यव्यङ्ग्यात्मक नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो छायांकन कार्यतालिका पूरा गर्दै निर्माण टोलीले चलचित्रको अन्तिम दृश्य कोशी प्रदेशको सुनसरीस्थित बराहक्षेत्रमा खिचेको हो।

निर्माण पक्षका अनुसार छायांकन सम्पन्न भएसँगै अब चलचित्रको सम्पादन तथा पोस्ट–प्रोडक्सनको काम सुरु गरिनेछ। निर्माता बोगटीले चलचित्रलाई यसै वर्ष दर्शकमाझ प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन्।

आभास अधिकारीको कथा तथा अवधारणामा निर्माण भएको चलचित्रको निर्देशन समीरले गरेका हुन्। चलचित्रलाई पारिवारिक मनोरञ्जनसँगै सामाजिक परिवेश र समकालीन समाजका रमाइला तथा ठट्यौली पक्ष समेटिएको कथामा निर्माण गरिएको जनाइएको छ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सहनिर्माताका रूपमा जोडिएका छन्। विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत तथा गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाको संयुक्त पटकथा तथा संवाद रहनेछ। यस्तै, चलचित्रमा सियोन श्रेष्ठको कोरियोग्राफी तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर एवं पब्लिसिटी डिजाइन रहने निर्माण पक्षले जनाएको छ।