ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ
फिल्म ‘झिंगे दाउ’ले युट्युबमा उल्लेखनीय दर्शक प्रतिक्रिया पाइरहेका बेला यसको दोस्रो श्रृंखला ‘झिंगे दाउ २’को नयाँ गीतको छायांकन सम्पन्न गरिएको छ। तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको शीर्ष गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा आकर्षक रूपमा प्रस्तुत भएका छन्।
रातो सारीमा सजिएका केकी र आँचलले गीतमा नृत्यसँगै मादल बजाएका छन्। गीतको कथावस्तुमा जेठानी–देउरानीबीचको रमाइलो झगडालाई रोचक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर सुन्न सकिनेछ। रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका छन्। गीत भदौ १० गते सार्वजनिक गर्ने तयारी छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले तयार गरेका हुन्। यसअघि सार्वजनिक टिजरले पनि दर्शकको ध्यान आकर्षित गरिसकेको छ।






