ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ
संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बा: एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक ट्रेलरले सन्तानको भविष्य र खुसीका लागि बुवाले गर्ने संघर्ष, त्याग र बलिदानलाई मुख्य विषय बनाएको छ।
ट्रेलरमा परिवारको खुसीका लागि आफ्नो जीवन समर्पण गर्ने एक बुवाको कथा प्रस्तुत गरिएको छ। सन्तानलाई सक्षम र सफल बनाउन जस्तोसुकै कठिनाइ सामना गर्न तयार हुने बुवाले अन्ततः आफ्नै सन्तानबाट पाउने पीडा र उपेक्षालाई पनि ट्रेलरले चित्रण गरेको छ। सन्तानको सुखका लागि आफ्नो घरसमेत त्याग्न तयार हुने पात्रको जीवनमा आउने उतारचढाव र पारिवारिक विघटनलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
निर्माण पक्षका अनुसार चलचित्रले नेपाली समाजमा बुवाले परिवार र सन्तानका लागि जीवनभर गर्ने संघर्ष तथा चुनौतीको कथा उठाएको छ। ट्रेलरको अन्त्यमा मुख्य पात्रले लिने निर्णयलाई रहस्यमय बनाइएको छ, जसले चलचित्रप्रति थप उत्सुकता जगाएको छ।
भदौ १९ गते प्रदर्शनमा आउने चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र संगीतकार, गीतकार तथा गायकका रूपमा परिचित हरि लम्सालको निर्देशनमा बनेको पहिलो फिचर फिल्म हो। वसन्त लम्साल निर्माता रहेको चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन्। चलचित्रको वितरण कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।






