‘पार्वती’लाई ‘युनिभर्सल’ सर्टिफिकेट, सबै उमेर समूहले हेर्न पाउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ

नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पार्वती’ ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। उक्त सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित चलचित्र हेर्न पाउने भएका छन्। अटिजम भएकी दिदी र भाइबीचको गहिरो माया, स्नेह र पारिवारिक सम्बन्धको कथामा आधारित चलचित्रमा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

आगामी भदौ १२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक ढुङ्गानाले खुसी व्यक्त गरेकी छन्। उनले साना बालबालिकादेखि हजुरबुबा–हजुरआमासम्म सबै पुस्ताका दर्शकलाई परिवारसहित हलमा आएर चलचित्र हेर्न आग्रह गरेकी छन्।

‘हाम्रो चलचित्र ‘पार्वती’ अब सानो बाबुनानीदेखि हजुरबुबा–हजुरआमासम्म सबैले हेर्न मिल्ने भएको छ,’ निर्देशक ढुङ्गानाले भनिन्, ‘माया, भावना र पारिवारिक सम्बन्धले भरिएको यो चलचित्र परिवारसँगै हेर्न नभुल्नुहोला।’

गत बिहीबार सञ्चारकर्मीको उपस्थितिमा सार्वजनिक गरिएको चलचित्रको करिब चार मिनेट लामो ट्रेलरले पनि दर्शक तथा चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले विशेषगरी दिदीभाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर दर्शकको ध्यान आकर्षित गरेको छ।

चलचित्रको कथा तथा पटकथा निर्देशक ढुङ्गानाले नै तयार पारेकी हुन् भने संवाद तथा स्क्रिप्ट शिवम् अधिकारीको रहेको छ। सुदीप बरालले छायांकन गरेको चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, साहिल खानको सम्पादन र दीपक शर्माको संगीत रहेको छ।

हरिहर अधिकारी निर्माता रहेको ‘पार्वती’का कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्। चलचित्रको उपत्यका तथा उपत्यकाबाहिरको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।