असोज २ गते चलचित्र ‘माया बस्छ कि क्या हो १’ रिलिज, आयो पोस्टर


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ

प्रेमकथानक नेपाली चलचित्र ‘माया बस्छ कि क्या हो १’ को दुई नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। राजु अधिकारी निर्देशित यो चलचित्र आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने भएको हो।

सार्वजनिक पोस्टरमा नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौलालाई युवा प्रेमजोडीका रूपमा प्रस्तुत गरिएको छ। पोस्टरले उनीहरूबीचको प्रेम, सम्बन्ध र समर्पणको भावलाई चित्रण गरेको छ।

शरद अधिकारीको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता बहादुर सिंह तामाङ हुन्। फिल्ममा आरती अधिकारी आचार्यको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, रामप्रसाद चौधरीको सम्पादन र रवीन्द्र बरालको छायांकन रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ।

चलचित्रको छायांकन बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायत युरोपका विभिन्न देशमा गरिएको हो। फिल्ममा सोनाल र कस्मतासँगै नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलको अभिनय रहेको छ।

प्रेम, सम्बन्ध र युवा पुस्ताको भावनालाई केन्द्रमा राखिएको ‘माया बस्छ कि क्या हो १’ले सबै उमेर समूहका दर्शकको मन जित्ने विश्वास प्रस्तुतकर्ता शरद अधिकारीको छ। प्रेमको फरक अनुभूति दर्शकमाझ पुर्‍याउने उद्देश्यले युरोपका आकर्षक स्थानमा चलचित्र छायांकन गरिएको उनले बताएका छन्।

यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेशन काठमाडौं’लगायत चलचित्र निर्माण गरिसकेका अधिकारीको नयाँ प्रस्तुति जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो। चलचित्रको वितरण नेशनल सिने ग्रुपले गर्नेछ।