ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौ
फिल्म ‘जदौ’को टिजर शनिबार सार्वजनिक गरिएको छ। हाइटेक इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको करिब एक मिनेट लामो टिजरमा नयाँ पुस्ताका युवायुवतीबीचको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने देखिन्छ। टिजरमा अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापासँग प्रेमसम्बन्ध रहेको संकेत गरिएको छ। अभिभावक पुस्ताको प्रतिनिधित्व भने अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन्।
असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथामा आधारित फिल्मका रूपमा प्रस्तुत गरिएको छ। नेपाली समाजमा व्याप्त जातीय विभेदकारी व्यवहारबाट उत्पन्न समस्या र त्यसको निराकरणका लागि चालिएको कदमलाई फिल्ममा जीवन्त ढंगले प्रस्तुत गरिएको निर्देशक अञ्जन शर्माले बताएका छन्।
लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपूर मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताको खाडल पुर्न सन्देशमूलक विषय उठाइएको बताए।
समीश्रण मुभिज एन्ड इन्टरटेनमेन्टले सिल्भर स्क्रिन इन्टरटेनमेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापासँगै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय छ।
श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन्।
शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्सन हेडमा बिमला भण्डारी छन्। फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्नेछ।






