ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ भदौ
राखाी अर्थात रक्षा बन्धनको अवसर पारेर दिदी भाईको सम्बन्धमा आधारित नेपाली चलचित्र ‘पार्वती’ १२ भदौबाट प्रदर्शनमा आउने भएको छ । यसै क्रममा चलचित्र ‘पार्वती’को ट्रेलर काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । करिब चार मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको छ ।
ट्रेलरले चलचित्रको मूल कथालाई दिदी–भाइबीचको आत्मीय सम्बन्धसँग जोडेर प्रस्तुत गरेको छ। अटिजम भएकी दिदीको भूमिका नीता ढुङ्गानाले निर्वाह गरेकी छन् भने अशोक दर्जी भाइको भूमिकामा देखिएका छन्। समाजले अटिजम भएका व्यक्तिप्रति गर्ने व्यवहार, उनीहरूले भोग्नुपर्ने अपमान र परिवारभित्रको भावनात्मक सम्बन्धलाई ट्रेलरमा प्राथमिकताका साथ देखाइएको छ।
ट्रेलरमा दिदीको अवस्था बुझ्न नसक्ने समाज र उनलाई संरक्षण तथा साथ दिने भाइबीचको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरपछि नीता र अशोकको अभिनय तथा उनीहरूको दिदी–भाइको जोडीको चर्चा हुन थालेको छ।
नीता ढुङ्गानाको निर्देशन रहेको चलचित्रको कथा तथा पटकथा पनि उनकै हो भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ ।
सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको चलचित्रका कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता छन्। चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। डिजिटल अधिकार ओएसआरले लिएको छ । यसअघि चलचित्रका ‘झनौ तुनाको रेल’ र ‘दिदीभाइ’ बोलका गीत सार्वजनिक भइसकेका छन् । गीतमा अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ ।






