ब्युटी न्युज नेपाल
काठमाडौँ, २ भदौ
भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित अन्य मल्टिप्लेक्समा पनि चलचित्रका शोहरू खुला गरिएका छन्। सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा शो संख्या क्रमशः बढ्दै जाने वितरक रोहित कट्टेलले जानकारी दिएका छन्। उनका अनुसार रिलिजको तीन दिनअघिबाट अग्रिम बुकिङ खुला गरिएको हो र दर्शकको मागअनुसार शो थपिनेछ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ। यससँगै ‘मास्टर्नी’ १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउने चलचित्र बनेको छ।
आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ। चलचित्रको कथा अभिनेत्री प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार गरेका छन्। संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्।
चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्दैछ। रोहित शाक्य र त्रिशला गुरुङको संगीत रहेको ‘मास्टर्नी’को पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेन र ज्ञानु संगम खड्काले तयार गरिरहेका छन्।
क्राइम, थ्रिल र रहस्यलाई केन्द्रमा राखिएको चलचित्रले प्रदर्शनसँगै दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।






