ब्युटी न्युज नेपाल
काठमाडौँ, १ भदौ
असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। नागपञ्चमीको अवसर पारेर निर्माण पक्षले ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, पीडा र गाउँलेबाट भोग्नुपरेको हेपाइलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। भारी बोकेर जीविकोपार्जन गर्दै आएका कार्की साइँलालाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह गरेर देखाउने अठोट लिन्छन्। यही अठोटलाई फिल्मको कथाको मुख्य आधारका रूपमा टिजरमा देखाइएको छ।
टिजरमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारलाई देख्न सकिन्छ।
राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथामा बनेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्।
दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी केसीको शृङ्गार रहेको फिल्मको पोस्ट प्रोडक्सन ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ। मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मलाई कुबेर फिल्म्सले वितरण गर्नेछ।



