ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन
२०८२ सालको ब्लकबस्टर चलचित्र ’ऊनको स्वीटर’को सिक्वेल ’कलेजी – ऊनको स्वीटर’ निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ’इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। सिक्वेल चलचित्र ‘कलेजी – ऊनको स्वीटर’को आगामी दशैँपछिबाट छायांकन सुरु गरिने भएको छ । यस चलचित्रलाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।
सामाजिक सञ्जालमा आफ्नो चलचित्रको शीर्षक डिजाइन सार्वजनिक गर्दै निर्देशक नवीन चौहानले ’ऊनको स्वीटर’को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित फेरि फर्किन लागेको बताएका छन्। उनले लेखेका छन्, ‘प्रिय दर्शकहरू, तपाईंहरूले माया गरेर मनमा सजाउनु भएको ऊनको स्वीटरको संसार फेरि फर्किँदैछ नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित। कलेजी – ऊनको स्वीटर अब यो केवल एउटा फिल्मको सिक्वेल होइन, पात्रहरूको जीवन र उनीहरूको अधुरो यात्राको अर्को अध्याय हो। यसपटकको यात्रामा चर्चित भारतिय कलाकार पियुष मिश्रा पनि हामीसँग जोडिनुभएको छ। उहाँको उपस्थितिले यो कथालाई अझ विशेष बनाउने हाम्रो विश्वास छ।’
चौहानले दर्शकको अत्यधिक माग र पर्खाइलाई सम्बोधन गर्न सिक्वेल निर्माण गर्न लागिएको बताए। उनले भने, ‘यो पटक हामीले ऊनको स्वीटरको यात्रालाई अझ फराकिलो ढङ्गले उजागर गर्ने कोसिस गरेका छौँ। धेरै दर्शकले फिल्म आधा अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौँ भनेर हामीलाई एकदमै आग्रह गर्नुभएको थियो। धेरै पटक विभिन्न बहाना बनाएर टार्ने प्रयास पनि ग¥यौँ। तर, अब भने ऊनको स्वीटरको नयाँ यात्रा सुरु गर्दैछौँ ।’
यस सिक्वेलमा पनि अघिल्लो चलचित्रकै हिट जोडी विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) मुख्य भूमिकामा दोहोरिने भएका छन्। उनीहरूका साथै एलेक्स पारस र परीक्षा लिम्बूको पनि यस चलचित्रमा मुख्य भूमिका रहनेछ। यसका अलावा, भारतका चर्चित लेखक तथा दिग्गज अभिनेता पियूष मिश्राले पनि यस चलचित्रमा अभिनय गर्ने विशेष जानकारी गराइएको छ। अभिषेक सुवेदीको सह–लेखन, नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको प्राविधिक तथा अन्य टिम चाँडै सार्वजनिक गरिने बताइएको छ भने नेपाल र भारतका प्राविधिकहरूको संलग्नता रहनेछ ।



