ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ साउन
आगामी भदौ १९ गते प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’को नयाँ लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ। पञ्चेबाजाको मौलिक धुनमा तयार गरिएको गीतमा अभिनेत्री केकी अधिकारी र अभिनेता करण साहको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।
हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर सुन्न सकिन्छ। नेपाली विवाह र उत्सवको परिवेशलाई समेटिएको गीतको भिडियोमा एक युवकले युवतीलाई जीवनसाथी बन्न आग्रह गर्ने र युवतीले आफ्ना बुवाआमाले रोजेको केटासँग विवाह गर्ने निर्णय सुनाउने कथावस्तु प्रस्तुत गरिएको छ। सरकारी जागिरको प्रलोभनलाई अस्वीकार गर्दै आत्मसम्मान र पारिवारिक मूल्यलाई प्राथमिकता दिएको सन्देश गीतले बोकेको छ।
यसअघि चलचित्रको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक भएको थियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
हरि लम्सालको लेखन, निर्देशन तथा कथामा निर्माण भएको ‘बा : एक योद्धा’ले परिवारका लागि बुवाले गर्ने त्याग, संघर्ष र जिम्मेवारीको कथा प्रस्तुत गर्नेछ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ। चलचित्रलाई कुशे औँसीको पूर्वसन्ध्यामा प्रदर्शनमा ल्याइँदैछ।






