ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन
धनसम्पत्ति र पारिवारिक हैसियत हेरेर छोरीको विवाह गराउँदा निम्तिन सक्ने पारिवारिक हिंसा र पीडालाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘अक्षरा’को टिजर सार्वजनिक गरिएको छ। विनयराज पौडेलको निर्देशनमा तयार भएको चलचित्रको २ मिनेट २ सेकेन्ड लामो टिजर सोमबार ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको मानसिक तथा शारीरिक पीडालाई मुख्य विषय बनाइएको छ। परिवारको पृष्ठभूमि नबुझी अनुहार र सम्पत्तिका आधारमा छोरीको विवाह गराउँदा उत्पन्न हुने परिणामलाई कथाले उठाएको देखिन्छ।
चलचित्रमा न्यान्सी खड्का छोरीको भूमिकामा छिन् भने सुशील पोखरेल उनका बुबा र सुशील सिटौला श्रीमान्को भूमिकामा प्रस्तुत भएका छन्। श्रीमान्को हिंसा सहन नसकेर माइती पुगेकी छोरीले बुबासँग गरेको मार्मिक संवाद टिजरको प्रमुख आकर्षण बनेको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा ‘ढुङ्गाना’ हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्। कथा उग्रसेनको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।
चलचित्रमा न्यान्सी, सुशील सिटौला, सुशील पोखरेललगायत कलाकारको अभिनय छ। दीपेन बस्न्यातको छायांकन रहेको चलचित्रलाई गौतम खड्काले सम्पादन गरेका छन्। रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।



