‘पार्वती’को ‘मेरो दिदी’मा दिदी–भाइको भावनात्मक कथा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन

आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पार्वती’को नयाँ गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ। सोमबार ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लिरिकल गीतमा दिदी–भाइबीचको आत्मीय सम्बन्ध र प्रेमलाई भावुक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा चलचित्रका अभिनेता अशोक दर्जीको स्वर रहेको छ। सार्वजनिक भिडियोमा अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय गरेका छन्। रक्षाबन्धनको प्रसङ्गसँग जोडिएको गीतले दिदी–भाइको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। गीतका शब्द र भिडियोको भावबीच राम्रो तालमेल देखिन्छ।

नीता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन तथा साहिल खानको सम्पादन रहेको छ।

शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता र हरिहर अधिकारी निर्माता रहेको चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। डिजिटल अधिकार ओएसआरले लिएको छ।

यसअघि चलचित्रको ‘झनौ तुनाको रेल’ गीत सार्वजनिक भइसकेको छ। उक्त गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ।