केकी–आँचलको झगडा भाइरलसँगै ‘झिंगे दाउ २’को टिजरलाई १० लाख भ्यूज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन

आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ८८‘झिंगे दाउ २’८८को टिजरले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। चार दिनअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा १० लाखभन्दा बढी भ्यूज पाएको छ भने सामाजिक सञ्जालमा पनि यसको चर्चा तीव्र बनेको छ ।

टिजरमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माबीच देखाइएको जेठानी–देउरानीको झगडाको दृश्य दर्शकमाझ विशेष चर्चित बनेको छ। रुखमा दुई अभिनेत्रीबीच भएको झगडाको दृश्य फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको निर्माण पक्षले जनाएको छ। फेसबुक र टिकटकमा मात्रै टिजर करोडभन्दा बढी पटक हेरिएको दाबी गरिएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा पारिवारिक सम्बन्ध, दाजुभाइबीचको कलह, जेठानी–देउरानीको सम्बन्ध तथा आमाको भावनात्मक पक्षलाई कथाको केन्द्रमा राखिएको छ। टिजरले चलचित्रमा पारिवारिक द्वन्द्वसँगै मनोरञ्जन र भावनात्मक पक्षलाई समेत प्रस्तुत गर्ने संकेत गरेको छ ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले नेपालभर वितरण गर्नेछ। सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन् ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको चलचित्रमा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन निर्देशन छ। परिच्छेद सेनले पटकथा तथा संवाद लेखेका छन् भने गोविन्द फुयाँल र शिशिर चालिसेले कथा लेखेका हुन् ।